काठमाडौँ, १० भदौ– काङ्ग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडालाई बनाउने निर्णय गरेको छ ।
संसदीय समितिको नेतृत्वका लागि आज हुने मनोनयनको लागि कांग्रेसले आफ्नो भागमा परेको चार वटा समिति मध्य प्रमुख शक्तिशाली मानिएको राज्य व्यवस्था समितिको सभापति खतिवडालाई बनाउने निर्णय गरेको कांग्रेसका एक नेताले जानकारी दिएका छन ।
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ मा व्यवस्था भए बमोजिम राज्य व्यवस्था तथा सुशासन समितिको कार्यक्षेत्र अन्तर्गत गृह मन्त्रालय,रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग र सम्बद्ध विषय तथा निकायहरु पर्दछन।
शक्तिशाली मन्त्रालय र संवैधानिक अंगका काम कारबाहीको अनुगमन गर्ने तथा तिनका काम प्रभावकारी बनाउन निर्देशन दिने अधिकार यो समितिलाई रहेको छ ।
प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति मध्ये सबैको भूमिका महत्वपूर्ण मानिए पनि कांग्रेसले खतिवडालाई सभापति बनाउन लागेको राज्य व्यवस्था समिति थप शक्तिशाली मानिन्छ ।
त्यस्तै कांग्रेसले नेतृ डा आरजु राणालाई कृषि समितिको सभापति, संसदीय समितिको सभापतिमा जीवन परियार र अर्थ समितिको सभापतिमा सन्तोष चालिसेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
