आरजु सहित को–को ले दिन्छन् त कृषि समिति सभापतिमा उम्मेदवार ?

१० भाद्र २०८०, आईतवार १०:५४

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले आरजु राणा देउवालाई कृषि समिति सभापतिको उम्मेदवार बनाउने तयारीमा छ।

संसदीय समितिको निर्वाचनका लागि आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोननयन दर्ताको समय निर्धारण दिईएको छ।

कांग्रेसले पाउने ४ समिति सभापतिको उम्मेदवार आज बिहान टुंगो लगाएको एक सांसदले जानकारी दिए।

उनका अनुसार राज्य व्यवस्था समिति सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइ समितिमा सहमहामन्त्रीसमेत रहेका जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेलाई उम्मेदवार बनाउने तयारी छ।

यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले ४, माओवादी केन्द्रले २, एमालेले ३ र एकीकृत समाजवादी, जसपा र जनमत पार्टीलाई १–१ समिति पाउने सहमति भएको थियो।

एमालेले पाउने तीन जनामध्ये दुईजना उम्मेदवारको टुंगो लागिसकेको छ।

नेकपा ९एमाले० ले सार्वजनिक लेखा समितिमा मोरङबाट निर्वाचित सांसद ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने तयारी गरेको छ।

त्यस्तै, महिला तथा सामाजिक मामिला समितिमा रौतहटका किरणकुमार साहलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

माओवादीले माधव सापकोटालाई उम्मेदवार बनाउने भएको छ।

आज बसिने बैठकमा अन्य दलले पनि अपराह्नसम्म उम्मेदवारको टुंगो लगाउने छन्।