धरान जान नपाएपछि इटहरीमै निकालियो धार्मिक र्‍याली

९ भाद्र २०८०, शनिबार १२:००

हिन्दु धर्म मान्ने विभिन्न संगठनहरूले सुनसरीको इटहरीमा धार्मिक र्‍याली निकालेका छन् । धरान जान नपाएपछि उनीहरूले इटहरीमा र्‍याली निकालेका हुन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा गए राति १२ बजेदेखि २४ घण्टे निषेधाज्ञा जारी गरेको छ । बाक्लोरूपमा प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ ।

निषेधाज्ञा धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिमको बाटो वराहक्षेत्र १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी ६ नं. बाट वराहक्षेत्र वडा न. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा लगाइएको छ।

इटहरी उपमहानगरपालिका वडा न. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा न. ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।