मेटमणिलाई केपी ओलीको जवाफ: केपी ओलीलाई हतकडी लगाउने ठाउँ छैन

७ भाद्र २०८०, बिहीबार १६:०१


काठमाडौ, ७ भदौ– पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पदमा रहँदा गरेका कुनै पनि काम कारबाही कानुनविपरित नरहेको बताएका छन ।

आज बिहीबार भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

उनले भने, ‘कानुनले केपी ओलीलाई हतकडी लगाउने कुनै ठाउँ राखेको छैन, राख्दै राख्दैन ।’ उनले कुनै गल्ती नगरेकैले आफू ढुक्कले बोल्ने गरेको पनि बताएका छन ।

उनले भने, ‘मलाई थाहा छ विरोधीहरू छन् । तिनले पाएसम्म सत्यका विरुद्ध काम गर्छन् । म सतर्क छु कानुनी रूपमा पनि कतै एक शब्द नचिप्लियोस् भनेर ।

म प्रधानमन्त्री, गृह र परराष्ट्र मन्त्री हुँदाका मेरा काम कारबाहीहरू कानुन पल्टाइपल्टाई फैसला र निर्णय गर्ने गरेको छु, ‘त्यसकारण यिनीहरूका इच्छाले केपी ओलीलाई फसाउन सक्दैनन् ।

माकुराको जालोमा भैँसी पर्दैन ।’ अध्यक्ष ओलीले ठुलठुला भ्रष्टाचारका काण्ड ओझेलमा पार्न एमाले र आफूतिर दोष लगाउने गरिएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह पनि गरेका छन ।

केही दिनअघि एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सुन तस्करीमा संलग्न रहेको भन्दै एक वर्षभित्र पक्राउ पर्ने दावी गरेका थिए ।

ओलीले चौधरीको नाम नलिई उनैप्रति सङ्केत गर्दै आफूले कुनै पनि निर्णय कानुनविपरित नगरेकाले नफस्ने बताएका हुन ।