सुन तस्करसँग सरकारकै उच्च अधिकारीदेखि पत्रकारको समेत संलग्नता छ: रवि लामिछाने

६ भाद्र २०८०, बुधबार १७:४१

काठमाडौँ, ६ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीमा सरकारकै उच्च अधिकारीदेखि पत्रकार समेत संलग्न भएको सूचना आफूले पाएको दाबी गरेका छन ।

आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले सरकारले सीआईबीलाई दोषीलाई छुटाउन दबाब दिनसक्ने आशंका व्यक्त गरेका छन ।

उनले भने, ‘सुन आएको कुराको जानकारी अहिले समातिएका दावा नाम गरिएको व्यक्तिलाई फोटो समेत पठाएको इमान्दार देशभक्त प्रहरीले मलाई विश्वास गरेर सूचना दिएका छन् ।

यसमा संलग्न विचौलियाहरुको पनि मलाई जानकारी गराएका छन् । त्यसको जानकारी सम्बन्धित निकायलाई मैले अवश्य गराउनेछु । यसको समाचार लुकाउनको लागि लामो समयदेखि पत्रकारिता गरेको मान्छे समेत संलग्न छन् ।

पूर्वप्रहरी प्रमुखको पनि कुराकानी दावासँग भएको सूचना प्राप्त भएको छ । यसमा प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउँछु ।’

उनले दावा नाम गरेको व्यक्तिसँग सुन तस्करबारे कुराकानी भएको उनको फोन रेकर्ड हेर्न सरकारसँग आग्रह गरेका छन् । उनले भने, ‘फरेन्सिक ल्याबबाट दावाको टेलिफोनमा भएको रेकर्ड संसदले जस्ताको तस्तै हेर्न पाओस्, सत्तपाक्षका मान्छे जोगाउन सिआइबीको अनुसन्धान प्रभावित हुने आशंका छ’, ।