काठमाडौँ, ६ भदौ– आज (बुधबार) काठमाडौको नयाँबानेश्वर र बुद्धनगरमा एउटा भैंसीले आतंक मच्चाएको थियो । उक्त भैंसी नियन्त्रणमा लिनपाँच घन्टा लग्यो ।
वन कार्यालय स्युचाटारबाट आएको टोलीले डार्ट गरेर भैंसी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन ।
आज (बुधबार) बिहान ६ बजेको समयमा बुद्धनगर क्षेत्रमा देखापरेको भैंसीले करिब पाँच घण्टासम्म आसपास क्षेत्रमा आतंक मच्चाएको थियो ।
प्रहरीले घरपालुवा भैंसी कसरी सडकमा आएर आतंक मच्चायो भन्ने जानकारी आउन बाँकी रहेको जानकारी दिएको छ । बानेश्वर प्रहरी बृत्तको टोलीले भैंसी नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरी मगाइएको थियो ।
प्रहरीले घेरेपछि बुद्धनगर, ढुंगेधारा हुँदै शंखमुल पुगेको भैंसीलाई एक विद्यालयको कम्पाउन्डमा छिराएर नियन्त्रणमा लिइएको थियो ।
भैंसीको एउटा सिङ भाँचिएको अवस्थामा रहेकाले कसैले मासुका लागि काट्न खोज्दा उम्किएर भागेको हुनसक्ने प्रहरीले जनाएको छ ।
