काठमाडौ, ६ भदौ– पोखराकी पत्रकार रोशनी क्षेत्री एलिजाले शरिरमा पेट्रोल छर्केर आत्महत्या गरेकी छन् । २५ वर्षीया एलिजाले पोखरा ८ जाल्पारोडस्थित आफ्नै निवासमा आत्मदाह गरेकी प्रहरीले जानकारी दिएको छ ।
जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज लगिएको थियो । गण्डकी मेडिकलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मा रिफर गरेपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा मंगलबार दिउँसो निधन भएको हो ।
७ वर्षदेखि पत्रकारितामा क्रियाशील उनले यसअघि माछापुच्छे« एफएम, परिचय डटकम, अन्नपूर्ण एफएमलगायत मिडियामा काम गरेकी थिइन ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी उनी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनर रहेकी थिइन ।
उनको मंगलबार साँझ सेती किनारस्थित शान्तिघाट अन्त्येष्टि गरिएको छ । मृतक एलिजाको गत वर्षमात्र विवाह भएको थियो । उनको पेटमा शिशु हुर्किदै गरेको समेत परिवार ले जानकारी दिएको छ । उनले आत्मदाह गर्नुको कारण खुलेको छैन ।
