काठमाण्डौ, ५ भदौ– एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली टोली मंगलबार राति पाकिस्तान प्रस्थान गर्दैछ । नेपालले पाकिस्तानमै प्रतियोगिताको अन्तिम तयारी गर्ने भएको छ ।
एसिया कपको १६औं संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुने भएको छ । प्रतियोगिताको अन्तिम तयारीमा रहेको नेपाली टोलीका कप्तान रोहित पौडेल एसिया कपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन ।
उनले बलिया टेस्ट राष्ट्रहरुको सहभागिता रहने भएकाले एसिया कपका लागि नेपाली टोलीले राम्रो तयारी गरेको बताएका छन ।
उनले भने, ‘एसिया कप हाम्रो लागि निकै महत्वपूर्ण प्रतियोगिता हो । यो प्रतियोगिताका लागि हामीले निकै मेहनत गरेका छौँ । पछिल्लो समय लगातार अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्ने अवसर पाएकाले पनि हामीलाई फाइदा पुगेको छ ’ ।
खासगरी आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता र एसीसी इमर्जिङ टिम्स एसिया कपमार्फत नेपाली खेलाडीले अनुभव बटुल्ने गतिलो अवसर भएको बताएका छन ।
१८ जुन देखि जुलाई ९ सम्म जिम्बाबेमा आयोजना भएको एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले बलियो टोलीहरुसँग खेल्ने अवसर प्रप्त गरेको थियो ।
यसैगरी जुलाई १३ देखि २३ तारिखसम्म श्रीलंकामा आयोजना भएको इमर्जिङ टिम्स एसिया कपमा पनि नेपाली खेलाडीले आफ्नो प्रदर्शन तिखार्ने अवसर पाएका थिए ।
पाकिस्तान प्रस्थान गर्नुअघि अन्तिम समयमा मौसमका कारण अभ्यास प्रभावित भए पनि समग्रमा नेपाली टोलीको तयारी राम्रो रहेको कप्तान पौडेलले जानकारी दिएका छन ।
उनले भने, ‘सबैभन्दा राम्रो पक्ष भनेको यसपटक हाम्रो टोली सन्तुलित छ । ब्याटिङ, बलिङ र फिल्डिङमा सुधार आएको छ । बलिया टोलीहरुसँग खेल्नुपर्ने भएकाले हामी सबै खेलाडीको मनोबल पनि उच्च छ ।
समग्रमा हामीले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएका छौँ,’ । यस पटक नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो ।
प्रतियोगितामा एसियाका टेस्ट खेल्ने मान्यता पाएका राष्ट्रहरुसहित ६ टोलीको सहभागिता जनाउने छ । नेपाली टोली प्रतियोगिताको समूह ‘ए’ मा परेको छ ।
उक्त समूहमा दुई बलिया राष्ट्र भारत र पाकिस्तान पनि छन् । लभारत र पाकिस्तान दुबै एकदिवसीय विश्वकपको पूर्वविजेता राष्ट्र हुन् ।
यसपटक ५० ओभरमा खेलाइने एसिया कपका लागि टेस्ट राष्ट्रहरुले पनि आफ्नो सिनियर टोलीलाई नै पठाएको छ । ‘प्रतिद्वन्द्वी जति बलियो भए पनि हामीले आफ्नो खेल खेल्ने हो ।
प्रतियोगितामा हामी बेष्ट क्रिकेट खेल्नेछौं । यसमा हामी विश्वस्त छौँ । एसिया कपको मैदानमा विश्वले हाम्रो खेललाई नियाली रहेको हुनेछ भन्ने कुरा हामीले राम्ररी बुझेका छौँ,’ कप्तान पौडेल भन्छन् ।
उनले क्रिकेट अनिश्चितताको खेल भएकाले नतिजा जे पनि आउन सक्ने बताएका छन । उनले भने, ‘पक्कै पनि हामी पहिलो पटक एसिया कप खेल्दैछौं । हाम्रा प्रतिद्वन्द्वीहरु पनि बलिया छन् ।
तर, क्रिकेट अनिश्चितताको खेल हो भन्ने कुरा हामीले भुल्नु हुँदैन,’ कप्तान पौडेल भन्छन्, ‘प्रतिद्वन्द्वी जतिसुकै बलियो भए पनि निश्चित खेलमा जसले उत्कृष्ट प्रदर्शन गर्न सक्छ खेल त्यसैले जित्ने हो ।
त्यसैले हाम्रो ध्यान प्रतिद्वन्द्वीभन्दा पनि आफ्नो उत्कृष्ट प्रदर्शनमै केन्द्रित रहने छ ।’
