शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनुमात्र हो: रवि लामिछाने

५ भाद्र २०८०, मंगलवार १६:२२

काठमाण्डौ, ५ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनुमात्र रहेको बताएका छन ।

आज (मंगलबार) सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन । उनले भने, ‘हामीलाई के लाग्यो भने, शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेको बदनाम हुनुमात्र हो।

साक्षी बस्नुको अर्थ देखिएन। हामी छलफल गर्छौं, यो विषय उहाँहरूलाई नै टुंग्याउन दिनुपर्छ।’ उनले सामान्य विषयलाई पनि तन्काइरहने परम्परामा दलहरू रहेको बताएका छन ।

उनले भने, ‘उहाँहरूले नै टुंग्याउनु होला भनेर आफ्नो ढंगले हामी अघि बढ्नुपर्छ भन्ने लागेको छ,’ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा मंगलबार बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बस्दै नबसी बुधबारका लागि स्थगित गरिएको थियो।