काठमाण्डौ, ५ भदौ– प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वस्थताको कारण देखाउँदै नआएपछि सर्वदलीय बैठक सरेको छ ।
आज (मंगलबार)को बैठकमा कार्यदलले मस्यौदा बुझाउने र सर्वदलीय बैठकले त्यसलाई अन्तिम रूप दिने सोमबार रातिको सर्वदलीय बैठकमा सहमति जुटेको थियो।
तर मंगलबार दिउँसो २ बजेलाई बोलाइएको बैठकमा अध्यक्ष ओली आउन नसकेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका छन ।
उनले भने, ‘अध्यक्षले हामीलाई बिरामी छु केही ढिला हुन्छ होला भनेर खबर गर्नु भएको थियो, ‘मैले प्रधानमन्त्रीलाई त्यही जानकारी गराएको थिएँ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष ओलीलाई बैठकस्थलबाटै २ पटक फोन गरेको र अन्तिममा बुधबार बैठक बसौं भन्ने प्रस्ताव गरेको नेम्वाङले जानकारी दिएका छन ।
उनले भने, ‘सुरूमा त प्रधानमन्त्रीज्यूले पर्खने कुरा गर्नुभएको थियो। तर अध्यक्षसँग कुरा भएपछि उहाँले समय लाग्ने भयो। ४ बजे प्रधानन्यायाधीशको शपथ छ, भोलि बिहान ११ बजे बसौं भन्नुभयो,’ ।
बैठक स्थगित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनुमात्र रहेको बताएका छन ।
