राष्ट्रपतिले दलहरुलाई बोलाएकामा एमालेको आपत्ति

५ भाद्र २०८०, मंगलवार १२:४४

काठमाण्डौ, ५ भदौ– प्रमुख प्रतिपक्ष दल एमाले राष्ट्रपति रामचन्द्र पौडेलले आज मंगलबार बोलाएको बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित भएको छ ।

राष्ट्रपतिले कार्यकारी शैली देखाएको भन्दै एमाले राष्ट्रपतिको बोलाएको बैठकमा नगएको एक नेताल जानकारी दिएका छन । राष्ट्रपतिले संसदमा जारी अवरोध खुलाउन आग्रह गर्नका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई शीतलनिवास बोलाएका थिए ।

एमाले सचेकत महेश बर्तौलाले आलंकारिक राष्ट्रपतिले कार्यसूची तोकेर दलहरुको बैठक बोलाएकाले नगएको जानकारी दिएका छन ।

उनले भने, ‘सेरेमोनियल राष्ट्रपतिले एजेण्डा नै खुलाएर दलहरुलाई बैठकमा बोलाउनु शोभनीय भएन ‘त्यसकारण हामी गएनौं ।’ बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रतिनिधिसभामा रहेका सबै दल सहभागी रहेका थिए ।

बर्तौलाले दलहरुबीचको सहमतिमा सुन तस्करी प्रकरण छानबिन गर्न समिति बन्न लागेकाले राष्ट्रपतिले सोही विषयमा बोलाउनुको औचित्य नभएको बताएका छन ।

प्रधानमन्त्रीको आश्वानमा राष्ट्रिय मान्यताप्राप्त दलहरुको सोमबार राति अबेरसम्म सिंहदरबारमा बसेको बैठकले सुन तस्करी छानबिन गर्न न्यायिक आयोग गठनको सहमति गरेको थियो ।