इन्डिगो विमानभित्र यात्रीले रगतको बान्ता गरे, यात्रीको उडानकै क्रममा मृत्यु

५ भाद्र २०८०, मंगलवार १२:०७

एजेन्सी– सोमबार मुम्बईबाट राँचीका उडान भरेको इन्डिगोको विमानमा एक यात्रुको निधन भएको छ । यात्रीले रगतको बान्ता गर्न सुरु गरेपछि विमानले नागपुरमा आकस्मिक अवतरण गरेको थियो तर यात्रीको ज्यान जोगाउन सकिएन ।

एक ६२ वर्षीय पुरुष यात्रुलाई मिर्गौला र क्षयरोगको रोग लागेको र यात्राको क्रममा रगत बान्ता हुन थालेको नागपुर विमानस्थलस्थित किम्स अस्पतालले जानकारी दिएको छ ।

यात्रुले विमानमा धेरै रगत बान्ता गरेको र अस्पतालमा मृतक अवस्थामा ल्याइएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ । राति करिब आठ बजे, यात्रुले रगत बान्ता गर्न थाले ।

त्यसपछि पाइलटले नागपुरमा आपत्कालीन अवतरण गर्ने निर्णय गरे । इन्डिगो एयरलाइन्सले एक विज्ञप्तिमा भन्यो, ‘मुम्बईबाट राँचीका लागि इन्डिगोको उडान सिक्स ई ५०९३ लाई मेडिकल इमर्जेन्सीका कारण नागपुरमा अवतरण गरिएको थियो, यात्रुलाई उपचारको लागि अस्पताल लगिएको थियो ।

तर दुर्भाग्यवश यात्रुलाई बचाउन सकिएन । हाम्रो समवेदना र प्रार्थना उहाँको परिवार र प्रियजनहरूसँग छ ।’ पछिल्लो समय विमानस्थलबाट कसैलाई मृत अवस्थामा अस्पतालमा ल्याइएको यो दोस्रो पटक हो ।

गत हप्ता, नागपुर–पुणे उडानको प्रतीक्षामा इन्डिगो एयरलाइन्सका ४० वर्षीय पाइलटको मृत्यु भएको थियो ।