राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले नेता गएनन्

५ भाद्र २०८०, मंगलवार १०:४४

काठमाडौं, ५ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक जारी छ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु भने सहभागी भएनन् ।

राष्ट्रपति राजनीतिक रुपमा सक्रिय जस्तो देखिएकाले बैठकमा नगएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । ‘संसदको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीले नै पहल गरिराख्नु भएको छ । फेरि त्यही विषयमा राष्ट्रपतिले किन सक्रियता देखाउनुपर्यो ? भनेर हामी गएनौं,’ उनले भने ।

सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेदेखि संसद अवरुद्ध गर्न थालेपछि राष्ट्रपतिले त्यसमा चासो राख्दै आएका छन् ।

यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसँग शीतल निवासमा छलफल गरेका थिए । यही क्रममा आज उनले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएका हुन् ।