काठमाडौँ, ४ भदौ– एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नैतिकता र मूल्यको राजनीतिमा डर लाग्दो विघटन देखिएको बताएका छन ।
आज (सोमबार) काठमाडौँको प्रज्ञाभवनमा स्कुलअफ डेमोक्रेशीद्वारा प्रदीप गिरिको स्मृतिमा सोमबार आयोजित ‘प्रजातान्त्रिक समाजवादका आयामहरु’ विषय कार्यक्रम उनले यस्तो बताएका हुन ।
उनले भने, ‘आदर्श, नैतिकता र मूल्यको राजनीतिको डर लाग्दो विघटन देखिएको छ । चिन्तक नेता नहुँदा त्यो चिन्तन कार्यान्वयन नहुने र प्रायः चिन्तकहरु स्वाभिमानी हुने यस्तो लफडामा बढ्न नचाहने पनि देखियो ।’
उनले वैद्धिकताको खडेरी परेको बेला स्वर्गीय प्रदीप गिरिका विचारहरुले सन्दर्भ र मार्गदर्शनको काम गर्ने बताएका छन । गिरिका विचारका लिगेसीहरुलाई परिभाषित गरेर आजको राजनीतिसँग जोड्न सक्यौँ भने उनीप्रति साँचो सम्मान गरेको ठहरिने उनको भनाइ छ ।
उनले भने, ‘लोकतन्त्रका लागि सम्झौताहीन र अभिश्रम योद्धा हुनुहुन्थ्यो । लोकतन्त्र संकटमा पर्दा स्थापित भनिएका मान्छे आस्थाबाट डगमगाउँदा रहेछन् ।
हामीले नेपाली कांग्रेसका कयौं भने डगमगाएको देखौं । नेपाली कम्युनिस्ट आन्दोलनका थुप्रै नेता देखौं । तर, प्रदीप गिरिले लोकतन्त्रप्रतिको निष्ठालाई डगमगाउन दिनु भएन ।’
