काठमाडौँ, ४ भदौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर स्वास्थ्य अवस्थाबारे जिज्ञासा जानकारी लिएका छन ।
आज सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डले टेलिफोन गरेर स्वास्थ्य अवस्था कस्तो छ भनेर जानकारी लिएको स्रोतले जानकारी दिएको छ ।
दुई नेताबीच टेलिफोनमा कुराकानी भएको एमाले उपाध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङले जानकारी दिएका छन । त्यस क्रममा प्रचण्डले आजै बेलुका चार बजेलाई आफूले बोलाएको दलहरूको बैठकमा सहभागी हुन सक्ने नसक्नेबारे समेत जिज्ञासा राखेका थिए ।
त्यस क्रममा ओलीले हिजोको तुलनामा आज केही सन्चो भएकाले आजको बैठकमा आफू सहभागी हुने बताएका थिए । आइतबारको बैठकमा ओली अनुपस्थित भएका थिए ।
संसद्को अवरोध हटाउन सहमति खोज्न प्रधानमन्त्रीले राष्ट्रिय मान्यताप्राप्त दलहरूलाई छलफलका लागि बोलाएका हुन् । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको माग गर्दै साउन १० यता सदन अवरोध गर्दै आएको छ ।
