स्याङ्जामा भदौमै पाक्न थाल्यो सुन्तला

४ भाद्र २०८०, सोमबार २०:२३

काठमाडौँ, ४ भदौ– स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी भएको छ । जिल्लाको पुतलीबजार नगरपालिका–११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको अर्यालले बताएका छन । उनको फार्म करिब एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

अर्यालको फार्ममा सुन्तला बँगैचामा उन्सुसहित १५ प्रजातिका १३ सय सुन्तला, अमिला जातका फलफूल, कफी, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनारलगायत ३५ भन्दा धेरै कृषिउपज उत्पादन हुने गरेको छ ।

उनले वार्षिक रु १५ लाखको मात्र सुन्तला बिक्री गर्दै आएको बताएका छन । शान्ति कफी टेड र मायाटारी कफी उद्योग दर्ता गरेर उनले कृषि व्यवसाय सञ्चालन गरेका छन् ।

सुन्तला उत्पादनका लागि उपयुक्त हावापानी भएको स्याङ्जामा स्थानीयसहित विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएको छ ।

उनले भने, ‘साउनदेखि फागुनसम्म’ ताजा सुन्तला भन्ने नारासहित साउन, भदौमा उत्पादन दिने जापानिज उन्सु जातको सुन्तला लगाएको अर्यालले जानकारी दिए ।

‘उन्सु जातको सुन्तला मात्र एक सय बोट छन्’ अहिले ४० बोटले उत्पादन दिएका छन् भने ६० बोट उत्पादनका लागि ठिक्क छन् ।’ उन्सु जातका सुन्तलाका दाना ठूल्ठूला र निकै स्वादिला हुने उनले बताए।

‘बेमौसममा फलेका कारण स्याउको मूल्यमा बिक्री हुन्छ’, कृषक अर्यालले भने, ‘अहिले घरमा आउने पाहुनालाई खुवाउने र कोसेलीका रुपमा दिने गरेका छौँ ।’

उनले उन्सु जातका सुन्तलाले एक–दुई वर्षमै स्याङ्जामा राम्रो उत्पादन दिने बताएका छन । उनले भने, ‘ कीर्तिपुरस्थित राष्ट्रिय सुन्तला अनुसन्धान केन्द्रबाट दुई उन्सु जातका बेर्ना ल्याएर लगाएको थिए ‘सुन्तला हुर्केपछि कलमी गरेर एक सय बोट उत्पादन दिने खालका सुन्तला बनाएको छु, नर्सरीमा किन्न चाहनेका लागि थुप्रै कलमी बिरुवा तयार गरेको छु ।’

अर्यालले २०४९ सालमा १० बोटबाट सुन्तलाको व्यावसायिक खेती सुरु गरेका थिए। ‘तत्कालीन समयमा गाउँमा ओमबहादुर केसी नाम गरेका ज्येष्ठ बुवा हुनुहुन्थ्यो, ‘उनले गाउँभरिका सबैलाई सुन्तला रोप्नुपर्छ भनेर निःशुल्क बिरुवा दिनुहुन्थ्यो’, उनले पुराना दिन सम्झिए, ‘उहाँकै प्रेरणा र हौसलाका कारण सुन्तला खेतीमा लागेको छु ।’

अर्यालको फार्मका उत्पादन वस्तु विगत १६ वर्षदेखि जापान निर्यात हुँदै आएका छन् । उनले विशेष गरेर कफी, सुन्तला, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनार, जामलगायत ३५ भन्दा धेरै सामग्री जापान पठाउँदै आएको बताए।

उनले पुतलीबजार–१२ पेल्काचौरमा ३० देखि ४० हजार कलमी सुन्तलाका बिरुवा उत्पादन गर्ने उद्देश्यसहित उच्च प्रविधिको नर्सरीसमेत बताएका छन् । उनले उत्पादन गरेको सुन्तला काठमाडौँ, बुटवल, भैरहवालगायतका स्थानमा निर्यात हुने गरेको छ ।

कृषि क्षेत्रमा तीनै तहका सरकारको राम्रो सहयोग पाएको उनको भनाइ छ । अर्यालकी श्रीमती उमाले श्रीमान्को कृषि कर्मले सामाजिक प्रतिष्ठा निर्माण भएको बताएका छन ।