काठमाडौँ, ४ भदौ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने समय टरेको बताएका छन । विराटनगरस्थित होटेल स्टर्नस्टारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।
उनले भने, ‘आफैँले बोलाएको बैठक र उपसभामुखले दिएको समय थियो । उहाँ नै अनुपस्थित हुनुभयो । उहाँले आज बिहान ९ बजेतिर जानकारी दिनुभयो, ‘उहाँले बोलाएको बैठकमा उहाँ नहुँदा के गर्ने भन्ने निर्णय कार्य व्यवस्था परामर्श समितिले निर्णय गर्छ ।
आजै विश्वासको मत लिने सम्भावना देखिएन । सल्लाह गरेर अर्को दिनलाई निश्चित गरेर हामी अगाडि बढ्छौँ ।’ उनले यद्यपि कार्य व्यवस्था परामर्श समितिको बैठक राखेर त्यसबारे औपचारिक निर्णय गर्ने पनि बताएका छन । उनले भने, ‘कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर के गर्ने भन्ने निर्णय हुन्छ,’ ।
थापाले बजेट प्रतिस्थापन गरेर अगाडि बढ्ने पनि बताएका छन । बजेट प्रतिस्थापन गर्नका लागि आगामी भदौ १० गतेसम्म समयावधि रहेको छ ।
उनले विश्वासको मत लिने विभिन्न तरिका र उपायहरु रहेको बताउँदै आफूले निर्धारित समयमै विश्वासको मत पाउने पनि बताएका छन ।
उनले भने, ‘विश्वासको मत लिने सम्बन्धमा हामीलाई ३० दिनको समय दिएको छ । त्यो अवधिभित्र विश्वासको मत लिन्छौँ,’ ।
प्रदेशमा प्रदेशसभाभित्र रहेका दलहरूका बीचमा सहमति, सहकार्य र एकता गरेर प्रदेशको स्थायित्व दिन र विकासका काम मिलेर गर्न आफूहरूले उदारता अपनाए पनि एमालेले एउटा भनेर अर्को काम गरेको उनले बताएका छन ।
उनले भने, ‘एमालेले सल्लाह एउटा गर्ने, कुरा एउटा गर्ने काम अर्को गर्ने भयो । विश्वासको मत लिने समयमा अनुपस्थिति हुने हो भने आफैँले किन समय दिएको ? समय नदिएको भए हुन्थ्यो नि ?’ ।
उनले उपसभामुख सिर्जना दनुवारले संसदीय व्यवस्थाभित्र द्वन्द्व सिर्जना गर्न खोजेको र अलोकतान्त्रिक कदम चालेको पनि बताएका छन ।
