एजेन्सी– अस्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्न महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्न स्पेन सफल भयो । प्रतियोगिताको फाइनल खेल आइतबार स्पेन र इङ्ल्यान्डबीच भएको थियो ।
उक्त खेलमा स्पेनले इङ्ल्यान्डलाई १—० गोलले हरायो । त्यो खेल हेर्न स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबिलेस पनि अस्ट्रेलियाको सिड्नीस्थित रंगशालामा सहभागी रहेका थिए ।
खेलको २९ औं मिनेटमा कप्तान ओल्गा कार्मोना गार्सियाले गरेको गोलको मद्दतमा स्पेनले पहिलो पटक महिला विश्वकपको उपाधि उचाल्न सफल भयो । खेल सकिएपछि उपाधि जितेको खुसीयाली मनाउन स्पेनिस फुटबलका पदाधिकारीहरु पनि खेलाडीसँग मिसिएका थिए । त्यसमा स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस पनि सहभागी रहेका थिए ।
तर, खेलाडीहरुसँग खुसीयाली मनाउने क्रममा अध्यक्ष लुइसले देखाएको ब्यवहारका कारण उनी यतिबेला विवादमा परेका छन । अध्यक्ष लुइसले गरेको अप्रिय ब्यवहारका लागि उनको ब्यापक आलोचना पनि भइरहेको छ ।
खासमा उनले महिला खेलाडीसँग खुसी साटासाट गर्ने क्रममा स्पेनिस टोलीकी अनुभवी मिडफिल्डर जेनिफर हर्मोसोलाई चुम्बन गरेका थिए ।
जेनिफरको अनुमति बिना नै उनको ओठमा चुम्बन गरेपछि अध्यक्ष लुइस विवादमा तानिएका हुन् । त्यतिबेला स्पेनिस टोलीले खुसीयाली मनाइरहेको क्षणको विश्वभर प्रत्यक्ष प्रशारण भइरहेको थियो ।
पछि सञ्चारकर्मीहरुले मिडफिल्डर जेनीलाई उक्त घटनाको विषयमा प्रश्न गरेका थिए । त्यसको जवाफ जेनिफरले हाँसेर दिएकी छन् । ३३ वर्षीया जेनिफरले भनेकी छन्, ‘ए त्यो ! तर, मलाई मन परेन ।’
मिडफिल्डर जेनिफर र टोलीका अन्य खेलाडीहरुले त्यो घटनाको प्रत्यक्ष प्रशारण भइरहेको र चुम्बनको घटना पनि भिडियोमा रेकर्ड भएको जानकारी पछि मात्र पाएका थिए ।
सञ्चारकर्मीहरुले जेनिफर र अन्य खेलाडीलाई त्यो भिडियो देखाएका थिए । समाचारमा जनाइए अनुसार, त्यो भिडियो हेरेपछि खेलाडीहरु आश्चर्यचकित भएर चिच्याएका थिए ।
त्यो घटना सार्वजनिक भएपछि फुटबल समर्थकहरु पनि आश्चर्यचकित भएका छन् । यस विषयमा थुप्रै समर्थकले सामाजिक सञ्जालमा विभिन्न धारणा व्यक्त गरेका छन् ।
कतिपय समर्थकले महासंघका अध्यक्ष लुइस र मिडफिल्डर जेनिफरबीच प्रेम सम्बन्ध रहेको आशंका पनि ब्यक्त गरेका छन् । कतिपयले त्यो घटनालाई स्पेनिस संस्कृतिविरुद्धको क्रियाकलापका रुपमा पनि चित्रण गरेका छन् ।
एल पाइसकी सम्पादक नाडिया ट्रोनचोनीले यो घटनालाई जितको खुसीयाली मनाइरहेका सम्पूणर् महिलामाथि गरिएको दूर्व्यवहारको रुपमा ब्याख्या गरेकी छन् ।
उनले भनेकी छन्, ‘यो जितको खुसीयाली मनाइरहेका सम्पूर्ण महिलामाथि गरिएको आक्रमण हो । एउटा ब्यक्तिको ब्यवहारका कारण सिंगो देशले खुसीयाली मनाइरहेको क्षण विवादित बन्न पुग्यो’ ।
अध्यक्ष लुइसले भने मुर्खहरुले अनावश्यक कुराको विषयमा चर्चा गरिरहेको प्रतिक्रिया दिएका छन् । ‘यहाँ जताततै मुर्खहरु छन् । त्यो सामान्य घटना हो । त्यसलाई मुर्खतापूर्ण तरिकाले बढाइचढाइ गरिएको छ,’ उनले भनेका छन् ।
