काठमाडौँ, ४ भदौ– नेकपा एकीकृत समाजवादी पर्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले भ्रष्टाचारविरुद्ध सडकमा उत्रिने नेपालमा एक मात्र पार्टी एकीकृत समाजवादी भएको बताएका छन ।
उनले समग्र भ्रष्टाचारहरुको आवश्यक छानबिन हुनुपर्ने पनि बताएका छन । उनले भने, ‘संसदमा नक्कली भुटानी शरणार्थी प्रकरण उठाउने पार्टी हामी नै हो। सडकमा पनि भ्रष्टाचारविरोधी अभियान गर्यौं।
‘सरकारले राम्रो काम गर्न सकेन भन्ने त छँदै छ। तर आलोचना मात्र गरेर पनि हुँदैन। समग्र भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले उल्लेखनीय काम गर्न सकेको छैन ।
कतिपय योजना कार्यान्वयन हुन सकेका छैनन् ।’नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीआईबीलाई माधव नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नगर्न किन आदेश दिनुभयो त भन्ने प्रश्नमा खतिवडाले भन्नुभयो, ‘प्रचण्डले के आदेश दिनुभयो ? मलाई थाहा छैन ।
यदि त्यस्तो आदेश दिनुभएको भए उहाँले नै जान्ने कुरा हो । माधव नेपालले आफू जोगिनुपर्ने वा जोगाउनुपर्ने कुनै कारण छैन ।’
उनले पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउनभन्दा पनि अझ राम्रो गर भन्न खोजेको हुन सक्ने बताएका छन ।
साथै उहाँले धेरै दल मिलेर बनेको सरकारलाई जहिले पनि खतरा हुने औंल्याउँदै आफ्नो पार्टी सरकारबाट बाहिरिनुपर्ने परिस्थिति नरहेको पनि बताएका छन ।
