ओली नआएपछि भोलिका लागि सारियो बैठक

३ भाद्र २०८०, आईतवार १७:०३


काठमाण्डौ,३ भदौ– आज आइतबार संसदमा जारी गतिरोध अन्त्य गर्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका नेताहरुको सर्वदलीय बैठक राखेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा राखिएको बैठकमा पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको समयमा बैठक सुरु गरिएपनि ओली नै नआएपछि बैठक सोमबार भोलिका लागि पुनः बोलाइएको माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन ।

बैठक संसद् खुलाउने विषयमा सम्पूर्ण दल एकमत रहेको र यसबारेमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँगपनि छलफल गरेर निचोडमा पुग्न भोलिका लागि अर्को बैठक बोलाइएको उनले जानकारी दिएका छन ।

उनले ओलीले नै मागेको समयमा बैठक राखिएपनि अस्वस्थ भएको भन्दै बैठकमा सहभागी नभएको बताएका छन । एमालेको तर्फबाट बैठकमा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी रहेका थिए ।

यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीबाट अनिता देवी साह, जसपाबाट राजकिशोर यादव सहभागी रहेको उनले बताएका छन ।

छलफलका क्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीलाई अनुसन्धान गर्नका लागि आफूले मागेको समय १५ दिन बाँकी रहेकोले त्यतिञ्जेल सदन खुलाउन र प्रहरीको अनुसन्धान चित्त नबुझे त्यसपछि समिति गठनको माग गर्न आग्रह गरेको बैठकपछि रास्वापा सभापति लामिछानेले जानकारी दिएका छन ।

उनले तस्करीको सुन प्रकरणमा प्रहरीको छानबिन प्रभावित पार्न नहुने बताउँदै छानबिन समिति गठन गरेपनि नगरेपनि संसद् बैठक सुचारु गर्न जोड दिएका थिए ।

आइतबारको बैठक संसद् खुलाउने विषयमा निचोडमा नपुगेपछि दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक अर्को दिनका लागि सार्न प्रधानमन्त्री प्रचण्डले प्रमुख सचेतक पाण्डेमार्फत सभामुख देवराज घिमिरेलाई सन्देश पठाएका थिए ।

त्यसपछि सूचना टाँस गरेर भदौ ५ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट भित्रिएको तस्करीको सुन प्रकरणमा अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले साउन १० गते यताका संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।