चोरी पैठारी नियन्त्रणमा सरकार प्रतिबद्ध छ: गृहमन्त्री श्रेष्ठ

३ भाद्र २०८०, आईतवार १४:३२

काठमाडौँ, ३ भदौ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार नाकाबाट हुने चोरी पैठारी र अवैध आयात रोक्न सरकार प्रतिबद्ध रहेको बताएका छन ।

उनले अहिले मुलुकको अर्थतन्त्रको मुख्य समस्याका रूपमा रहेको अवैध व्यापार नियन्त्रणका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताएका छन ।

आज (आइतबार) गृह मन्त्रालयमा बसेको कुखुरा तथा कुखुराजन्य वस्तुको गैरकानुनी ओसारपसार नियन्त्रणसम्बन्धी बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन ।

उनले विभिन्न वस्तुको अवैध व्यापारले नेपालका उद्योगी व्यवसायी समस्यामा परेको मात्र नभई सरकारले समेत ठुलो राजस्व गुमाइरहेको बताएका छन ।

उनले भने, ‘भन्सार नाका र खुला सीमानाबाट हुने चोरी पैठारी व्यवसायीको मात्र समस्या होइन । यस्ता अवैध गतिविधिले व्यवसायी त मारमा परेकै छन्, राष्ट्रले पनि राजस्व गुमाएको छ, मुलुक आत्मनिर्भर हुने वस्तुमा पनि बाहिरबाट चोरी पैठारी हुने गरेको देखिएको छ ।

राजस्व चुहावट नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ । ’ उनले खुला सिमाना र भन्सार नाकाबाट हुने चोरी पैठारी नियन्त्रणका लागि प्रतिबद्ध भएर लाग्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको उल्लेख गर्दै अवैध व्यापार नियन्त्रणका लागि प्रहरी प्रशासनका तर्फबाट सहयोग गर्ने पनि बताएका छन ।

उनले अर्थतन्त्र सुधारका लागि आन्तरिक पुँजी निर्माण, लक्षित पुँजीगत खर्च र व्यापार घाटा न्यूनीकरण गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन ।