काठमाडौं, ३ भदौं – संसद् अवरोध खुलाउने उद्देश्यका साथ दलका प्रमुख सचेतकसँग छलफल गरे पनि सहमति जुट्न नसकेको सभामुख देवराज घिमिरेले बताएका छन्।
सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा आज बसेको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सचेतकले आ–आफ्नो अडान कायमै राखेपछि संसद् खोल्ने विषयमा सहमति जुट्न नसकेको उनले बताए।
लगातार संसद् अवरुद्ध हुँदा सांसदप्रति आमजनतामा नकारात्मक सन्देश गएकाले सहमतिका लागि मान्यता प्राप्त दलका प्रमुख सचेतकलाई छलफलमा सभामुख घिमिरेले बोलाएका थिए। यस्तै बैठकमा प्रमुख प्रतिपक्षी दलका सचेतकले संसद् अवरोधलाई थप सशक्त बनाउने र सत्तापक्षले पनि आफ्नो अडान कायमै राखपछि बैठक निष्कर्षविहीन बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक सन्तोष परियारले बताए। बैठकमा रास्वपाका तर्फबाट आफूले आफ्ना विमति भए सदनमै छलफल गर्न र संसद् अवरोध अन्त्य गर्न आग्रह गरेको पनि उनले बताए।
बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा प्रमुख प्रतिपक्षी दलबाट नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतकलगायत सहभागी थिए। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करीको प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै आएको छ भने सत्तारुढ दलहरु त्यस विषयमा सहमत हुन नसक्दा संसद् सञ्चालन हुन सकेको छैन।
प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिए पनि सञ्चालन हुन सकेको छैन।
