रसुवाको स्याफुबेसीबाट २ किलो सुनसहित दुईजना पक्राउ

३ भाद्र २०८०, आईतवार १४:०९

रसुवा, ३ भदौ– प्रहरीले रसुवाको स्याफुबेसीबाट २ किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ घर भएका सुदिप शेर्पा र भोटेकोशी–१ घर भएका खुर्साङ्बु शेर्पा रहेका छन ।

मोटरसाइकल चढेर टिमुरेबाट कठमाडौँतर्फ आउँदै गरेका सुदिप शेर्पाले चेस्टगार्डमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरिएको रसुवाका डीएसपी सुवास बुढाथोकीले जानकारी दिएका छन ।

स्याफ्रुबेसी चेकपोष्टमा प्रहरीले चेकजाँच गर्दा सुन भेटिएको उनले बताएका छन । सुदिप शेर्पाले सो सुन आफुलाई खुर्साङ्बुले दिएको बताएका थिए ।

सुपिदको बयानको आधारमा खुर्साङ्बुलाई पक्राउ गरिएको डिएसपी बुढाथोकीले जानकारी दिएका छन । सुन र आरोपीतहरुलाई प्रहरीले राजस्व अनुसन्धान विभाग, हरिहरभवनमा पठाएको छ ।