काठमाडौँ, १ भदौ–एमाले महासचिव शंकर पोखरेलले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनको गतिरोध अन्त्य हुने नत्र अवरोध कायमै हुने बताएका छन ।
आज (शुक्रबार) वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले सुन तस्करी प्रकरणलगायतका विषयमा छानबिनका लागि आयोग गठन गर्न सत्तापक्ष तयार नहुँदा सदनको अवरुद्ध जारी रहेको पनि बताएका छन ।
उनले भने, ‘हामीले कुनै जटिल वा अप्ठ्यारो माग राखेका छैनौं ’ उच्चस्तरीय छानबिन आयोग बनाउन भनेका हौं, प्रतिपक्षको सामान्य कुरासमेत सुन्न नचाहेकाले यस्तो परिस्थिति सृजना भएको छ । ’
उनले आफूहरूले उठाएका माग सम्बोधन गर्न तयार भए संसद् सञ्चालन हुने बताएका छन । उनले राज्यका सुरक्षा निकायप्रति आफूहरूको कुनै आशंका नरहेको उल्लेख गर्दै सुन तस्करी प्रकरणमा सत्तापक्षकै कतिपय ठूला नेताहरू मुछिएकाले घटनाको स्वच्छ र निष्पक्ष छानबिन हुनेमा आशंका उब्जिएकाले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिएको पनि बताएका छन ।
उनले दोषी नछुटोस् र निर्दोष नफसोस् भन्ने आफ्नो पार्टीको मान्यता रहेको बताउँदै ठूलो मात्रामा भित्रिएको सुनबारे सरकारले स्वच्छ, निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताएका छन ।
उनले संसदमा प्रतिपक्षका कुरा सुन्नै नचाहने, बोल्नै नदिने र कुरा उठाउनसमेत बन्देज लगाउने जस्ता कार्य गरिरहेकाले संसद् अवरुद्ध गर्नुपरेको स्पष्ट पार्दै महासचिव पोखरेलले सत्तापक्षले प्रतिपक्षलाई अदृश्य रुपमा घेराबन्दीमा पार्दै आएको बताएका छन ।
