काठमाडौ, १ भदौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी महिना हुने चीन भ्रमणमा ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्त्वपूर्ण सम्झौता हुने बताएका छन ।
आज (शुक्रबार) विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले छिमेकी मित्रराष्ट्र चीनसँग पनि चिलिमे–केरुङ २२० केभी प्रसारण लाइन निर्माणमार्फत जोडिन सोसँग सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेको बताएका छन ।
उनले एक हजार २०० मेगावाट क्षमताको बुढी गण्डकी जलाशय र १० हजार ८०० मेघावाट क्षमताको बहुआयमिक कर्णाली चिसापानी जस्ता ठुला जलविद्युत आयोजनाहरूको निर्माण अघि बढिरहेको बताएका छन ।
उनले हाल करिब ४५० मेगावाट विद्युत् निर्यात भइरहेको अवस्थाबाट नेपालको विद्युत् निर्यातलाई १० वर्षमा १० हजार मेगावाटसम्म पुर्यारउने गरी द्विपक्षीय सम्झौतामा नेपाल र भारतबीच प्रारम्भिक हस्ताक्षर भइसकेको बताएका छन ।
उनले भारतसँगको उक्त समझदारीलाई मूर्तरूप दिन सम्बन्धित निकायहरू भारतीय पक्षसँग पनि लगातार सम्पर्क र समन्वयमा रहेको बताएका छन ।
उनले यसैगरी बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन निकट भविष्यमै निर्माणको चरणमा जानेगरी नेपाल र भारत दुबैतर्फ आवश्यक कार्यहरू अघि बढाइएको पनि बताएका छन ।
उनले नेपाल–भारत ४०० केभी थप दुई प्रसारण लाइनहरू इनरुवा–पूर्णिया र दोधारा–बरेलीको निर्माण प्रारूप आगामी २ महिनाभित्र ऊर्जा सचिवस्तरीय संयन्त्रमार्फत सहमतिमा पुर्यासउन आवश्यक निर्देशन दिइसकेको बताएका छन ।
कार्यक्रमा प्रधानमन्त्री प्रचण्डले ऊर्जा सुरक्षालाई पनि एकीकृत राष्ट्रिय सुरक्षाकै अङ्गको रूपमा लिँदै जलविद्युतको प्रचुर उत्पादनबाट हरित, स्वच्छ ऊर्जा उत्पादकका रूपमा नेपालको अन्तर्राष्ट्रिय जगतमा समेत परिचय स्थापित गरी सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने प्रतिबद्धता पूरा गर्न कार्य योजनासाथ अधि बताएका छन ।
