भीम रावललाई ओलीको ‘ग्रीन सिग्नल’: के पाउँदैछन् जिम्मेवारी ?

१ भाद्र २०८०, शुक्रबार १३:०६


काठमाडौँ, १ भदौ– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत साता पार्टीभित्र चर्चामा रहेका दुई वटा विषयमा सांकेतिक कदम चालेका छन ।

उनले पहिलो, पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने चर्चालाई अस्वीकार गर्दै खण्डन गरेका थिए । यस्तै दोस्रो, आफूसँग लामो समय संवादहीनताको अवस्थामा रहेका पूर्व उपाध्यक्षसमेत रहेका नेता भीम रावलसँग लामो भलाकुसारी गरे ।

यी दुई घटनापछि विभिन्न कोणबाट ओलीका कदमको विश्लेषण हुन सुरु गरेको छ । खासगरी ओलीका यी दुई कदमपछि पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीति गर्ने चाहनाप्रति ‘रेडलाइट’ अर्थात् रातो बत्ती बलेको रुपमा केही एमाले नेता कार्यकर्ताले बुझेका छन् भने रावलको हकमा ‘ग्रीन’ अर्थात हरियो बत्ती बलेको रुपमा चर्चा र विश्लेषण हुन सुरु भएको छ ।

भण्डारी गत फागुन अन्तिम साताबाट राष्ट्रपतिको कार्यकाल सकाएर फुर्सदमा बसेकी छन् भने रावल गत ०७९ को निर्वाचनमा जिल्ला र प्रदेशबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भए पनि ओलीले टिकट दिएनन् भने हालसम्म उनी एमालेमा भूमिकाहीन अवस्थामा रहेका छन ।

ओलीले महाधिवेशनमा आफूविरुद्ध उम्मेदवारी दिएको प्रतिशोधस्वरुप निर्वाचनमा रावललाई टिकट नदिएको चर्चा त्यसै बेलादेखि नै एमालेभित्रै चल्दै आएको थियो ।

०७८ मंसिरमा सम्पन्न एमालेको चितवन महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका नेता रावल त्यसयता पार्टीमा खासै सक्रिय थिएनन् ।

त्यसपछि २०७९ को निर्वाचनमा समेत टिकट नपाएपछि आफूविरुद्ध अन्याय भएको महसुस गर्दै आएका रावल बितेको झण्डै २० महिना एमालेको साधारण सदस्यको भूमिकामै सीमित रहेका थिए ।

महाधिवेशनपछि अध्यक्ष ओलीले रावललाई केन्द्रीय सल्लाहकार परिषदमा सदस्यको जिम्मेवारी दिए पनि उनले स्वीकार गरेका थिएनन् । तर पनि उनलाई सक्रिय बनाउन पार्टीभित्र दबाब भने बढ्दो थियो ।

महाधिवेशनको २० महिनापछि भने रावल पार्टीमा उपयुक्त जिम्मेवारी पाए सक्रिय बन्ने ‘मुड’मा देखिन्छन् । यद्यपि उनले अहिले नै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने स्पष्ट नएको बताएका छन ।

यतिमात्रै हो कि अहिले अध्यक्ष ओली र नेता रावलबीचको लामो समयको संवादहीनता तोडिएको छ । संवादहीनता तोडिनुलाई अध्यक्ष ओली र रावल दुवैले सकारात्मक रुपमा लिएका छन् ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भनिन्, ‘उहाँहरुबीच सकारात्मक कुराकानी भएको बुझिन्छ । सम्भवतः अब बस्ने बैठकपछि रावल कमरेड पार्टीको सक्रिय राजनीतिमा फर्कनुहुन्छ’
के पाउँछन् रावलले जिम्मेवारी ?
एमाले नेताहरुका अनुसार रावललाई पार्टी काममा सक्रिय बनाउन सचिवालय सदस्यहरुको पहिलेदेखि नै जोड थियो । त्यसमा सदस्यहरुले अध्यक्ष ओलीले नै पहल कदमी लिनु उपयुक्त हुने बताउदै आएका छन ।

यसअघि केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको तीन सदस्यीय समितिले समेत रावलसँग एक चरण कुरा गरे पनि खासै प्रगति हुन सकेको थिएन ।

एमालेका एक नेताले भने, ‘विगतका तीनचार वटा सचिवालय बैठकमा रावल कमरेडलाई सक्रिय गराउने विषयमा छलफल भएको हो’ साउन ३० मा उहाँहरु दुवै जना बसेपछि सकारात्मक कुराकानी भयो । यसले पार्टीमा पनि सकारात्मक सन्देश गएको छ ।’

ती पदाधिकारीका अनुसार रावलले पार्टीको जिम्मेवारी समेत पाएपछि एमालेमा फरक ढङ्गको लहर चल्ने बताएका छन ।