माथिल्लो मैलुङ खोलाको आईपीओमा स्थानीयहरुको लागि आवेदन दिने म्याद दोश्रो पटक थप

१ भाद्र २०८०, शुक्रबार १२:०२

साउन ४ गतेदेखि माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुको लागि आवेदन दिने म्याद थप दिईएको छ। कम्पनीले यस अघि आवेदन दिन म्याद थप गरी भदौ १ गते निष्काशन बन्द गर्ने जानकारी गराएको थियो तर प्राकृतिक प्रकोपजस्ता कारणले गर्दा दरखास्त फारम बुझाउन सहज नहुने भएपछि आवेदन दिने मिति थप गरिएको कम्पनीले जनाएको छ। अब कम्पनीको आइपीओमा भदौ १७ गतेसम्म आवेदन दिन सकिने भएको छ।

कम्पनीले जारी पुँजी १ अर्बको २५ प्रतिशतले हुन आउने २५ करोड रुपैयाँ रकम बराबरको १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ता शेयर मध्ये आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. १ (साविक हाकु गा.वि.स.वडा नं. ८ र ९ तथा डाँडागाउँ गा.वि.स.वडा नं. ७, ८, र ९ ) मा बसोबास गर्ने बासिन्दालाई ५,७१,४३० कित्ता शेयर तेस्तै आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५ )साविक डाँडागाउँ गा.वि.स.वडा नं. १, २, ३, ४, ५, र ६, ठुलोगाउँ गा.वि.स.वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, र ९, लहरेपौवा गा.वि.स. वडा नं.१, २, ३, ४, ५, ६, ७, ८, र ९,) र नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं.५ (साविक मनकामना गा.वि.स. वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, र ९,) मा बसोबास गर्ने बासिन्दाहरुलाई २,८५,७२० कित्ता शेयर र रसुवा जिल्लाको अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुलाई १,४२,८५० कित्ता गरी जम्मा १० लाख कित्ता शेयर निष्काशन तथा बिक्रि खुल्ला गरेको छ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

इच्छुक स्थानियले यस कम्पनीको आइपिओमा न्युनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।