सुन प्रकरणमा सरकारको संलग्नता छ: कांग्रेस सांसद केसी

३२ श्रावण २०८०, बिहीबार १७:४२


काठमाण्डौ, ३२ साउन– कांग्रेस सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतो बिना विमानस्थलबाट सुन बाहिरिन नसक्ने दाबी गरेका छन ।

आज (बिहीबार) सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन । उनले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरुको मिलेमतो बिना बाहिरिन नसक्ने बताएका छन ।

सांसद केसीले दुई वटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने बताएका छन ।

उनले सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने माग गरेका छन । सांसद केसीले संसद् बन्धक राख्नेकुरा प्रमुख प्रतिपक्षको स्वभावका रुपमा परिणत हुँदै गएको पनि आरोप लगाएका छन ।