काठमाण्डौ, ३२ साउन– दाङमा विषालु च्याउ खाएर बिरामी परेकी ११ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बङ्गलाचुली गाउँपालिका–४ की अस्मिता सुनार रहेकी छन ।
जंगली च्याउ खाएपछि बिरामी परेकी उनको बुटवलमा उपचार हुँदै आएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मङ्गलवार थप उपचारका लागि बुटवल लगिएको र उनको उपचारको क्रममा उनको मुत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
च्याउ खाएर बिरामी परेकी उनकी आमा २७ वर्षीया ईश्वरी सुनारको अवस्था गम्भीर रहेको पनि प्रहरीले बताएको छ । ईश्वरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईसीयूमा उपचार भइरहेको छ ।
मृतकका बाबु अजय सुनार पनि बिरामी रहेका छन । तर, उनको अवस्था सामान्य रहेको राप्ती स्वास्थ्य प्रतिष्ठानले जानकारी दिएको छ । उनीहरुले मंगलबार जंगलबाट च्याउ ल्याएर खाएका थिए ।
