३ महिनामा हाम्रो पार्टी जिवन्त पार्टीका रुपमा आउँछ: प्रधानमन्त्री प्रचण्ड

३२ श्रावण २०८०, बिहीबार १६:५०

काठमाडौं, ३२ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा अल्मलिएको माओवादीले पुनः बाटो पहिल्याएको बताएका छन्।

जनयुद्धको बेला माओवादी र जनताको सम्बन्ध माछा र पानीजस्तो रहेको तर सरकारमा आएपछि आफूहरू केही अल्मलिएको प्रधानमन्त्री प्रचण्डले बताए।

तर अहिले फेरि परिवर्तनको दिशातर्फ आफूहरूले बाटो पहिल्याएको उनले बताए। बिहीबार (आज) रामेछापको दोरम्बामा आयोजित २०औँ दोरम्बा स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै जनतासँग जोडिएर प्रतिगमन र भ्रष्टाचारविरुद्ध समाजवादी क्रान्ति सफल बनाउन आफू लागेको उनले बताए।

उनले ३ महिनाभित्र माओवादी जिवन्त पार्टीका रूपमा आउने दाबी गरे। भ्रष्टाचारविरुद्धको अभियान चालेपछि पार्टीप्रति जनतामा विश्वास बढेको बताउँदै उनले अबको निर्वाचनमा २०६४ सालको भन्दा बलियो भएर उदाउने बताए।

उनले भने, ‘अर्को ३ महिनामा हाम्रो पार्टी जिवन्त पार्टीका रुपमा आउँछ, अबको निर्वाचनमा माओवादी २०६४ को भन्दा बलियो शक्ति भएर आउँछ।’ अहिले गठबन्धनमा कुनै समस्या नभएको उनले बताए। सुशासनका लागि चालिएको भ्रष्टाचारविरोधी अभियानमा अन्य दलहरूबीच एकआपसमा सम्बन्धित रहेको पनि उनले बताए।