काठमाण्डौ, ३२ साउन– अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रमुख प्रतिपक्षी दल एमालेले अनाहक बखेडा झिकेर संसद्लाई प्रभावहीन बनाउने काम गरिरहेको आरोप लगाएका छन ।
आज ९बिहीबार० जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले यस्तो बताएका हुन ।
उनले एमालेको अनावश्यक संसद् अवरोध गरिरहेकाले महत्त्वपूर्ण विधेयकहरू ओझेलमा परेको बताएका छन । उनले आफूहरू सरकारभन्दा बाहिर हुँदा कहिल्यै संसद् अवरोध नगरेको तर एमाले सरकारबाट बाहिरिने बित्तिकै अनावश्यकमा संसद् अवरोध गरिरहेको बताएका छन ।
उनले सङ्घीयता, सङ्घीय कानुन, संसद् र कार्यपालिका चुस्त बनाएर प्राप्त उपलब्धि बचाउने कर्तव्य प्रतिपक्षीको पनि रहेकाले अनावश्यक संसद् अवरोध छोडेर प्रक्रियामा आउन उनले एमालेलाई आग्रह गरेका छन ।उनले अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आएको पनि दाबी गरेका छन ।
उनले अर्थतन्त्र अब गति लिइरहेको र राष्ट्र बैँकले समेत ब्याज घटाउँदै गइरहेको पनि बताएका छन । उनले सरकारको पहिलो प्राथमिकता नै पारदर्शिता, सुशासन र आर्थिक प्रगति रहेको बताएका छन ।
उनले विगतमा कोरोना भाइरसको सङ्क्रमणले विश्वमा आर्थिक क्षेत्रमा आएको तरलताका कारण समस्या देखिएकोमा अब बिस्तारै यसमा सुधार भइरहेको बताएका छन ।
उनले देशको आर्थिक आवश्यकता धेरै रहेपछि क्षमता थोरै रहेकाले समेत यसैबीच आर्थिक विकास हासिल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन ।
