काठमाण्डौ, ३२ साउन– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे लगायतको निवेदनमाथि सुनुवाइ आज बिहिबार सकिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा पाण्डेसहित थुनामा रहेका १० जनाको सुनुवाइ सकिएको हो ।
थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उनीहरु उच्च अदालत पाटन पुगेका थिए । यो प्रकरणमा कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायत पक्राउ परेका छन ।
उनीहरुको भने निवेदन पेसीमा चढेको छैन । उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतसँग माग गरेको कैफियत प्रतिवेदन नआइपुगेको कारण उनीहरुको निवेदन भने पेसीमा नचढेको हो ।
बिहीबारको पेसीमा निलम्बित सचिव टेक नारायण पाण्डे, पूर्व सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, नरेन्द्र केसी, सानु भण्डारी, आङटावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया र गोविन्द चौधरीको निवेदनमाथि सुनुवाइ सकिएको छ ।
उच्च अदालत पाटनले उनीहरुको निवेदनमा सुनुवाइ सकेपछि धरौटी लिएर थुनामुक्त गर्ने वा थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नेबारे आदेश दिनेछ ।
उच्च अदालतले तारेख वा धरौटीमा थुनामुक्त गर्ने आदेश दिएमा उनीहरु सोही आदेशमा उल्लेख भएको व्यवस्था बमोजिम थुनामुक्त भई सुरु अदालतमा चलेको मुद्दामा सहभागी हुन सक्नेछन् ।
