काठमाण्डौ, ३१ साउन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ ।
लामिछाने र राजदूत सङबीच रास्वपा कार्यालय वनस्थलीमा बुधबार शिष्टाचार भेटवार्ता भएको हो । भेटको क्रममा नेपाल–चीन सम्बन्धबारे छलफल भएको स्रोतले जानकारी दिएको छ ।
नेपालको आर्थिक विकास, सुशासन र ग्रामीण विकासमा चीनको सहयोगका विषयमा समेत छलफल भएको बताइएको छ । त्यस क्रममा सभापति लामिछानेले उत्तरी सीमानामा नेपालीले भोग्दै आएका समस्याबारे राजदूतको ध्यानाकर्षण गराएको रास्वपाले जानकारी दिएको छ ।
राजदूतको एक जिज्ञाशामा सभापति लामिछानेले आफ्नो दल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको पनि बताएका छन । भेटमा रास्वपा विदेश विभाग प्रमुख शिशिर खनाल तथा केन्द्रीय सदस्यहरु लिमा अधिकारी र प्रतिभा रावल सहभागी रहेका थिए ।
