संघीय निजामती ऐन एकसाताभित्रै सदनमा दर्ता हुन्छ: पूर्णबहादुर खड्का

३१ श्रावण २०८०, बुधबार १६:२४


काठमाण्डौ, ३१ साउन– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती ऐन एकसाताभित्रै सदनमा दर्ता हुने बताएका छन ।

नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय कार्यसमितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले निजामती विधेयक चालु अधिवेशनमै सदनमा दर्ता भई छलफल अघि बढ्ने बताएका छन । उनले भने, ‘विधेयक छिट्टै सदनमा दर्ता हुन्छ, पहिलेको तुलनामा धेरै उन्नत, समृद्ध र वैज्ञानिक बनाउन कोसिस गरिएको छ ।’

संविधान जारी भएको आठ वर्ष पूरा भइसक्दासमेत संघीय निजामती ऐन जारी नभएपछि सरकारको काम गर्ने तरिका र प्राथमिकताका विषयमा आलोचना हुँदैआएको छ ।

उनले सुशासन प्रदान गर्ने सन्दर्भमा देखिएको निर्णय प्रक्रियामा हुने ढिलासुस्ती हटाउन सुधारको कार्य योजना अघि बढाइएको उल्लेख गर्दै पैसाको अभावले मात्र नभई झन्झटिलो निर्णय प्रक्रियाका कारण लक्ष्य अनुरुप पुँजीगत खर्च नहुँदा विकास र समृद्धिका मुद्दा ओझेलमा पर्दैआएकामा सुधारको आवाश्यक्ता रहेको बताएका छन ।