काठमाण्डौ, ३१ साउन– कांग्रेस सांसद सुनिल शर्माले आफूलाई पक्राउ गर्न कांग्रेसकै नेताहरु लागेको आरोपलगाएका छन । आज बुधबार कांग्रेस मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बताएका छन ।
उनले आफूलाई गिरफ्तार गराउन कांग्रेसकै जिम्मेवार व्यक्ति लागिपरेको आशंका व्यक्त गरेका छन । उनले बालकृष्ण खाणलाई पक्राउ गराउने समूहले नै आफूलाई पनि फसाउने योजना रचेर पक्राउ गरेको आरोप लगाएका छन ।
उनले कतिपय व्यक्ति विरुद्धमा लागेपनि पक्राउ पर्दा आफूलाई धेरैले साथ दिएको भन्दै उनले सङ्कटमा साथ दिने सबैलाई धन्यवाद दिएका छन ।
उनले गलत काम भइरहदा टुलुटुलु हेरेर बस्न नसकिने भन्दै गलत कामको सँधै विरोध गरेर जनताको पक्षमा बोलिरहने बताएका छन ।
उनले आफूमाथि अन्याय हुँदा आफ्नै पार्टीका कतिपय जिम्मेवार व्यक्ति मौन बसेको पनि बताएका छन । उनले भने, ‘अनुमान लगाउनुस्, तपाईँलाई तपार्इँकै बुबाले मार्न भनेर घाँटीमा न्याकेर पोखरीमा डुबाए, तर त्यतिबेला सँधै झगडा गरिरहने छिमेकी आएर तपाईँलाई बचायो भने पोखरीबाट निस्किएपछि मार्न खोज्ने बुबालाई अङ्गालो मार्नुहुन्छ की उद्धार गर्नेलाई मार्नुहुन्छ ?’
प्रश्न गर्दै सांसद शर्माले भने, ‘सङ्कटमा जसले बचायो त्यसलाई पहिले अङ्गालो मारिन्छ, हो मैले पनि त्यही कारण केपी ओली जिन्दावाद भनेको हुँ, उनलाई भेट्न पनि गएको हुँ ।’
