डिजेलको भाउ बढेको भोलिपल्टै बढ्यो गाडीभाडा

३१ श्रावण २०८०, बुधबार १३:४१


काठमाण्डौ, ३१ साउन– सरकारले सार्वजनिक सवारी साधनको भाडा बृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर कायम गरेका छन ।

तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको हो ।

बढेको भाडादर आजैबाट लागु भएको विभागले जानकारी दिएको छ । यो भाडा दुई वा सो भन्दा बढी प्रदेश अथवा राष्ट्रिय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा मात्र लागु हुने भएको विभागले बताएको छ ।

निगमले १ साउनयता पटक पटक गरी डिजेटमा २१ रुपैयाँ प्रतिलिटर मूल्य बढाएपछि स्वचालित प्रणाली अनुसार भाडा बढाउने निर्णय भएको विभागले जनाएको छ ।