काठमाण्डौ, ३१ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९ केजी सुन तस्करी प्रकरणमा संलग्नताको आरोप लागेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि प्रहरीले अभियोजन दर्ता गर्ने बताएका छन ।
उनले केही दिनभित्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले महरालाई प्रतिवादी बनाएर अभियोजन दर्ता गर्न लागेको बताएका छन । उनले आज÷भोलिमै प्रहरीले त्यसबारे कदम चाल्ने पनि बताएका छन ।
हिजो मंगलबार सम्पादकहरुसँगको छलफलमा उनले सुन तस्करीमा संलग्न जोसुकैमाथि कारबाही हुने बताएका छन । महरालाई आफूले बोलाएर के भएको भन्नेबारे सोधिसकेको उनले जानकारी दिए ।
प्रहरी उच्च नेतृत्वलाई पनि दोषी देखिए नछाड्ने भनेको प्रचण्डले बताएका छन । उनले भने, ‘प्रहरी नेतृत्वलाई निष्पक्ष छानबिन गर्न भनेको छु’ दोषी कोही नउम्किऊन्, निर्दोष नपरून् भनिएको छ ।
चिनियाँ व्यापारीले चुरोट (भेप) मा लुकाएर ल्याएको ९ केजी सुन प्रकरणमा महरा मुछिएका छन् । तस्कर चिनियाँ नागरिकसँग महरा र उनका छोरा राहुलको पटकपटक कुराकानी भएको प्रतिवेदनसहितको कल रेकर्ड प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
प्रधानमन्त्रीले महरा संलग्न भएको भए किन अनुसन्धान नगरेको भनेर सोधेको बताएका छन ।
