सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ

३० श्रावण २०८०, मंगलवार १७:३५


काठमाण्डौ,३० साउन– सीआईबीले सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेका स्रोतले जानकारी दिएको छ ।

चीन जान लागेका उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूारो सीआईबीले पक्राउ गरेको हो । योसँगै सुन तस्करी हालसम्म प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो ।

त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो । सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो ।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो । सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।