सुन तस्करी प्रकरण : गालेपछि फेरि घट्यो तौल

३० श्रावण २०८०, मंगलवार १४:५८

काठमाण्डौ,३० साउन–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले गालेको छ ।

गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैंकका एक अधिकृतले जानकारी दिएका छन ।

३ साउनमा राजस्वले सुन बरामद गरेर गाल्न र तौल लिने प्रयोजनका लागि राष्ट्र बैंकको टक्सार महाशाखालाई जिम्मा लगाएको थियो ।

राष्ट्र बैङ्कले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई रोहबरमा राखेर मंगलबार सुनको वास्तविक तौल सार्वजनिक गरेको हो ।

सोमबार ब्रेक प्याडबाट अलग गर्दा सुनको तौल ६० किलो ७८९ ग्राम भएको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिएका छन ।

त्यसपछि बाल्दा परिमाण केही ग्राम घटेर वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको उनले बताएका छन । सोमबारदेखि राष्ट्र बैंकले सुन ब्रेक प्याडबाट अलग गर्ने र गाल्ने प्रक्रिया सुरु गरेको थियो ।