प्रतिकुल मौसमको कारण पोखरा, सुर्खेत र तुम्लिङटारको उडान तथा अवतरण रोकियो

२८ श्रावण २०८०, आईतवार १३:२६

काठमाडौं, २८ साउन– प्रतिकुल मौसमको कारण पोखरा, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान तथा अवतरण रोकिएकोे छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार लगातारको वर्षाका कारण तीनवटै विमास्थलमा एउटा पनि उडान हुन नसकेको हो। आइतबार (आज) बिहानदेखि पोखरा विमानस्थल र सुर्खेत विमानस्थलबाट विमान उड्न सकेको छैन भने अन्य विमानस्थलहरूमा पनि ढिलो हुने र कम उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

आइतबार बिहानदेखि मौसम खराब भएपछि तुम्लिङटार विमानस्थलमा हुने सबै उडान रद्द भएको बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले बताए । उनका अनुसार मौसमको खराबीले पोखरा र सुर्खेत विमानस्थलमा अहिलेसम्म उडान हुन सकेको छैन ।

यस्तै प्रतिकुल मौसमका कारण अन्तर्राष्ट्रिय हवाई उडान पनि प्रभावित भएको छ । भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।

उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् ।