काठमाडौं, २८ साउन–नेकपा एमाले केन्द्रीय सचिब एबं मधेस प्रदेश ईन्चार्ज योगेश भट्टराई एमाले मधेश प्रदेश कमिटीको संगठन र आर्थिक विभागको बैठक पार्टी कार्यालय जनकपुरमा सम्पन्न भएको छ ।
आगामी असोज ५ र ६ गते आयोजना हुने पार्टीको प्रदेश अधिवेशनको तयारीका लागि बैठकले विभिन्न कार्ययोजना प्रस्तावित गरेको छ । अधिवेशनको प्रयोजनका लागि संगठित सदस्यताको प्रमाणीकरण यहि श्रावण मसान्तभित्रमा संगठन विभागबाट गराउने र प्रमाणीकरण भएका सदस्यले मात्र प्रतिनिधि चुनिने र चुन्ने अधिकार प्रयोग गर्न पाउने निर्णय पनि बैठकले गरेको छ ।
उक्त बैठकले नयाँ संगठित सदस्यको सपथ ग्रहण (करिब ३० हजारको) एकै दिन प्रदेश निर्वाचन क्षेत्र स्तर (६४ स्थान) मा आयोजना गर्ने निर्णय गरेको छ । प्रदेश अधिवेशनका लागि प्रतिनिधिको छनौट एकै दिन भाद्र २६ गते गर्ने र प्रतिनिधिको छनौट गर्दा समावेसीको साथै ३० बर्ष मुनिका युवाहरुलाई प्राथमिकता दिने बैठकमा प्रस्ताव गरेको छ ।
प्रतिनिधि छनौट गर्दा निश्पक्ष, सहभागितामुलक र लोकतान्त्रिक बिधिबाट गर्ने यसका लागि प्रत्येक मतदान केन्द्राका लागि वुद्धिजिवीहरुको नेतृत्वमा निर्वाचन समिति गठन गर्ने पनि बताइएको छ । बैठकले आन्तरिक श्रोतको परिचालन गर्ने गरी बजेट प्रस्ताव गरेको छ ।
