काठमाडौं, २५ साउन– जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
गएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी कठायतले आफूलाई कांग्रेस राम्रो लागेर नै कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।
‘कांग्रेस प्यारो लाग्थेन भने म पहिले नै माओवादी, समाजवादीको चिह्न लिएर उठिहाल्थेँ नि । मेरा साथीहरु, मित्रहरु त्यहाँ छन् भनेर नै उठेको हो । जहाँ अन्याय हुन्छ, त्यहाँ स्वतन्त्रहरु उठ्छन् । नेपाली कांग्रेस पार्टी त नराम्रो होइन, दुईचारजना व्यक्तिका कारण मैले स्वतन्त्र उठ्नुपरेको हो,’ उनले भने ।
मेयर कठायतले आफूलाई नेपाली कांग्रेस प्रवेश गरेपछि काम गर्न अझै सहज हुने बताए । उनले थपे, ‘तीनचोटिसम्म अन्याय सहनु त्यसपछि नसहनु भन्ने बीपी कोइरालाको सिद्धान्त अनुसार म स्वतन्त्र उठें । जनताले मलाई अवसर दिए । मलाई हिजो स्वतन्त्र हुँदा पनि सहज थियो । कांग्रेस प्रवेश गरेपछि मलाई काम गर्न झन् सहज हुन्छ । तर म कसैको दबाबमा पार्टीमा फर्किएको होइन ।’
