काठमाडौं, २५ साउन– सुनजस्तो देखिने पहेँलो बिस्कुट आकारको धातुसहित एक महिला प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको जोरपाटीमा बस्दै आएकी झापाको बिर्तामोड नगरपालिका–१ घर भईकी ४५ वर्षीया कल्पना गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बिहीबार (आज) बिहान करिब साढे ७ बजे कास्कीको पोखरा महानगरपालिका–९ स्थित बसपार्कबाट उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
उनी काठमाडौंबाट पोखरा आएको ग१ख ९९४४ नम्बरको बसमा सवार रहेको प्रहरी स्रोतले बताएको छ । बसबाट ओर्लने क्रममा उनको शरीर तलासी गर्दा सो पहेँलो धातु फेला परेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी बेद जोशीले बताए ।
गुरुङको छातीमा सेतो टेपले बेरेर ‘ब्रा’भित्र लुकाइराखेको अवस्थामा सुनजस्तो देखिने सो धातु र पहेँलो औँठीजस्तो देखिने रिङ अन्दाजी २८० ग्राम २९ मिलिग्राम फेला परेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
