स्पेनको जनसङ्ख्या हालसम्मकै उच्च, स्पेनमा जनसङ्ख्या कति पुग्यो त ?

२५ श्रावण २०८०, बिहीबार १०:३८

काठमाडौं, २५ साउन– स्पेनको जनसङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । उच्चस्तरमा जनसङ्ख्या पुग्नुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयले मंगलवार प्रकाशित गरेको अध्ययनले देखाएको हो ।

त्रैमासिक निरन्तर जनसङ्ख्या तथ्याङ्कले जुलाई १ मा स्पेनमा ४ करोड ८३ लाख ४५ हजार २२३ जना मानिसहरू बसोबास गरिरहेको देखाएको छ । जुन अहिलेसम्म रेकर्ड गरिएकोमध्ये सबैभन्दा धेरै हो ।

२०२३ को दोस्रो त्रैमासिकमा १३ लाख ५ हजार १८६ जनाले वृद्धि भएको छ । थपिएको जनसङ्ख्या मध्ये १ लाख ३९४ जना स्पेन बाहिर जन्मिएका थिए । अब विदेशी भूमिमा जन्मिएका बासिन्दाहरूको कुल सङ्ख्या ८४ लाख ५७ हजार ८८६ पुगेको छ ।

स्पेनका राष्ट्रिय तथ्याङ्क संस्थानका प्राविधिक मिगुएल कार्लोस गालानले भने, ‘यो वृद्धि जन्मको कारणले भएको होइन किनभने जन्म र मृत्यु बीचको भिन्नता व्यावहारिक रूपमा शून्य भएको छ, तर मूलतः के भएको छ कि आप्रवासन बढेको छ ।’