काठमौं, २४ साउन – बैतडीकी १६ वर्षीया किशोरी महिनावारी हुँदा गोठमा सुतेकी उनलाई सर्पले टोक्दा मृत्यु भएको छ।
जिल्लाको तल्लो स्वराडको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो। पञ्चेश्वर–४ का वडाध्यक्ष जनक बहादुर चन्दले महिनावारी हुँदा गोठमा बसेका बेला सर्पले टोक्दा अनिताको मृत्यु भएको बताएका छन्। उनले भने, ‘सर्पको टोकाईबाट १६ वर्षीया बहिनीको मृत्यु भएको छ। उनको गाउँ गाउँपालिकाको केन्द्रबाट २०० मिटर टाढा छ। राति (मंगलबार राति) सर्पले टोकेको रहेछ। परिवारका सदस्य बैद्यलाई बोलउन लागेछन्।
अनिताका छिमेकी समेत रहेका पञ्चेश्वर–४ को वडा कार्यालयका कर्मचारी प्रेम बहादुर चन्दका अनुसार अनिता महिनावारी भएको मंगलबार ४ दिन पुगेको थियो। ४ दिनदेखि उनी गाइ–भैंसी बाँध्ने गोठमा सुत्दै आएकी थिइन्।
‘महिनावारी भएको ४ दिन भएको रहेछ। गाइ–भैंसी बाँध्ने गोठमा सुतेकी रहिछन्। मंगलबार मध्यराति सर्पले टोकेर घाइते बनाएको रहेछ। आफन्तले बैद्यलाई बोलउन गएको समयमा उनको घरमै मृत्यु भयो,’ चन्दले भने।
अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन्। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा अहिले पनि महिला तथा किशोरीहरु गोठमा सुत्ने गर्छन्। पञ्चेश्वर–४ का कर्मचारी चन्दका अनुसार पहिलेको तुलनामा महिनावारी भएको बेला गोठमा सुत्ने ‘प्रथा’ अहिले कम भएको छ। तर केही परिवारका महिला भने देवी–देउताको डरले अहिले पनि महिनावारी हुँदा गोठमै सुत्ने गरेका छन्।
महिनावीका बेला गोठमा सुतेका कारण सर्पको टोकाइबाट किशोरीको मृत्यु भएको घटनाबारे भने प्रहरीले अनविज्ञता प्रकट गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रेम शाहीले अनिताको मृत्युबारे प्रहरीलाई जानकारी नभएको बताए।
