काठमाण्डौ, २३ साउन– मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोमा वेपत्ता भएका एक जनाको शव भेटिएको छ ।
मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको शव पहिरोमा भेटिएको हो । उनको शव सिन्धुली हरिहरपुर गा.पा. १ कोकरेस्थित बागमती खोलाको बीच बगरमा फेला परेको प्रहरीले बताएको छ ।
पहिरोले सिक्रेनीमा रहेको स्याङ्तानको घर बगाउँदा उनीसहित उनकी २२ वर्षीया छोरी शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी बेपत्ता छन् ।
पहिरोमा परेकी अक्कलबहादुरकी श्रीमती शन्तमायाको भने हिजो नै उपचारका लागि अस्पताल लैजाँने क्रममा बाटोमा मृत्यु भएको थियो ।
पाहुना आएका उनका ज्वाइँ सिन्धुली हरिहरपुर गाउँपालिका१ ककरेका १९ वर्षका पासाङ घिसिङ भने पहिरोमा बगेको १४ घन्टापछि जीवित भेटिएका थिए ।
पहिरोले घर बगाएको स्थान काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।
