धनगढी, २४ साउन– सोमबारदेखि लगातार परेको अविरल वर्षाले कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । बाढीको उच्च जोखिम मानिने सो नगरपालिका जलमग्न हुँदा त्यहाँका हजार भन्दा बढी वस्तिहरु प्रभावित भएका छन् ।
नगरपालिकाका प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष विक्रम चौधरीले हिजोसम्म केही वडा प्रभावित भए पनि आज बिहानसम्म पुरै नगरपालिकावासी नै प्रभावित भएको बताए । हालसम्म एक हजार बढी घरधुरी प्रभावित भएको बताउँदै उनीहरूको उद्धारसँगै सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताए ।
नगर प्रवक्ता चौधरीले भने, ‘कोही सेफ हाउसमा जानुभएको छ । कोही हुलाकी राजमार्गका साथै अन्य सुरक्षित स्थानमा पाल टाँगेर आश्रय लिएका छन् । यो क्रम बढ्दो छ । हामीले तथ्याङ्क लिने क्रम पनि जारी राखेका छौ ।’ यसैबीच उनले उद्धारमा र राहत सहयोगमा कुनै निकायले सहयोग नगरेको बताए । नगरपालिकाका कै सीमित साधन स्रोतबाट रातदिन नभनी काम जारी राखेको बताउँदै अन्य निकायबाट सहयोगको अपिल समेत गरे ।
भजनी नगरपालिका क्षेत्र बर्सेनि बाढीको समस्या झेल्दै आएको छ । यहाँको कन्द्रा, काँढा, पथरैया, मोहना नदीमा आउने बाढीले डुबान हुँदै आएको छ ।
