पोखरा महानगरका मेयर आचार्य के फेरि एमालेमा फर्किने तयारीमा हुन त ?

२३ श्रावण २०८०, मंगलवार १२:४३

काठमाडौं, २३ साउन– पोखरा महानगरका मेयर धनराज आचार्य र नेकपा एमालेका महासचिव शंकर पोखरेलबीच भेटवार्ता भएको छ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयरमा आचार्य निर्वाचित भएका हुन् । पछिल्लो क्रममा एकीकृत समाजवादी छोडेर नेता तथा कार्यकर्ताहरु एमाले फर्कने क्रम तीव्र रहेको छ ।

एमाले महासचिव पोखरेल र मेयर आचार्यबीच यही बेला भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटपछि महासचिव पोखरेलले मेयर आचार्यको प्रशंसा गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

उनले लेखेका छन्– पोखरा महानगरका मेयर धनराज आचार्यसँग होटेल मझेरी पोखरामा धेरैपछि आकस्मिक भेट भो । अखिल आन्दोलनको योध्दासमेत रहेका मेयरसँग फेरि भेट्ने वाचा सहित ।

महासचवि पोखरेलको यस्तो स्टाटसमा धेरैले ‘मेयर आचार्य एमाले फर्कन लागेको’ आशय व्यक्त गरेका छन् । यद्यपि, पदमा बहाल रहेकै बेला अर्को पार्टीमा गएको अवस्थामा आफू निर्वाचित भएको पार्टीले कारबाही गरेमा निर्वाचित पद स्वतः जान्छ । त्यसैले तत्काल उनी एमले फर्कने सम्भावना कम छ ।