काठमाडौं, २३ साउन – काठमाडौंको सामाखुसी खोलामा लगाएको स्ल्याब हटाएर करिडोरका रूपमा काठमाडौं महानगरले विस्तार गर्ने भएको छ ।
अवैध रूपमा खोला छोप्ने गरी स्ल्याब हालेपछि महानगरले केही दिनअघि देखि स्ल्याब भत्काइरहेको छ । स्ल्याब हटाइसकेपछि उक्त खोलामा करिडोर बनाउने महानगरको योजना रहेको छ ।
स्थानीयले अवैध रूपमा बनाएको स्ल्याबबाट खसेर ७ साउनमा सामाखुसीका साजन मगर बेपत्ता भएका थिए । उनलाई ११ दिनपछि कीर्तिपुरबाट मृत अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए । त्यसयता स्ल्याब हटाउने कार्यलाई झन् तीव्र बनाएको महानगरले जनाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार सामाखुसी खोलामा भएको स्ल्याब निकालेर करिडोरमा विस्तार गरिनेछ ।
‘हामीले साउन लागेसँगै स्ल्याब खोल्न थालेका हांँ । यहीबीचमा स्थानीय बालक साजन मगर खोलामा खसेर बेपत्ता भए । उनलाई मृत्य अवस्थामा फेला पारेपछि यो कामलाई थप तीव्र पारेका छौँ,’ प्रवक्ता मानन्धरले भने, ‘वसुन्धरा चौकी, रानीबारी हुँदै रेडन पुलसम्मको स्ल्याब हटाइसकिएको छ । पानी परिरहेका कारण काममा अलि डिस्टर्ब भइरहेको छ ।’
