काठमाडौंको सामाखुसी क्षेत्र डुबानमा, बिहान ११ बजेसम्म सतर्कता अपनाउन आग्रह

२३ श्रावण २०८०, मंगलवार ०८:२३

काठमाडौं, २३ साउन– काठमाडौंमा भारी वर्षा हुदाँ सामाखुसी क्षेत्र डुबानमा परेको छ । उक्त क्षेत्रका घर, विद्यालय लगायतका अन्य संरचना पुरै जलमग्न भएको छ।

पम्प सेटको सहायताले एसईबी स्कुलमा जम्मा भएको पानी तानेर फाल्ने क्रम जारी छ । डुबानमा परेका अन्यले पनि मोटरको सहायताले पानी तानेर फाल्ने र सामान सुरक्षित स्थानमा सार्ने गरिरहेका छन् ।

काठमाडौं उपत्यकाका रातभर भारी वर्षा भएको छ । वर्षाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट ती क्षेत्र आसपास भारी वर्षा मापन भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा बाढी आएको छ ।